समाचार

फेरिए काठमाडौँका प्रमुख जिल्ला अधिकारी


काठमाडौँ – गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

रिजाल विगत ४ महिनादेखि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक २ गतेदेखि २०७८ जेठ २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै, उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका छन् ।