राजनीति

जयसिंह धामीको घटनामा पाँच हप्तापछि भारतलाई नेपालको पत्र


काठमाडौँ – भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ ।

दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पत्र पठाइएको हो । तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत भनिएको छ ।

भारतीय हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको छ । तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर अनधिकृत रूपमा उडाइएपछि भारतीय ज्यादतीविरुद्ध सर्वत्र विरोध भइरहेको छ ।

सीमा क्षेत्रमा भएका घटनामा भारतसँग सामान्य सोधपुछसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।