राजनीति

सरकारको काम कारवाहीबारे सत्तारुढ दलबाटै आलोचना : सच्चिएर अगाडि बढ्न नेता सिंहको आग्रह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भनेर नागरिकस्तरबाट प्रश्न उठेको भन्दै गम्भीर बन्नु आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको विषयमा गृहमन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै सरकार सच्चिएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उहाँको भनाइ छ । नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलित नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण व्यक्त गर्नुभयो ।