राजनीति

सुवास नेम्वाङको टिप्पणी – सरकार विस्तार गर्दा सरकार नै ढल्छ भन्ने डर छ


काठमाडौँ – नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताउनुभएको छ । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताउनुभयो ।

सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर रहेको नेम्वाङको भनाइ छ । उहाँले सरकारलाई महिना नपुगि जन्मिएको बच्चासँग तुलना गर्दै सरकारको लक्षण ठिक नभएको पनि बताउनुभयो ।

सर्वोच्चको फैसलापछि सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको भन्दै उहाँले सरकारको नियत यसैबाट प्रस्ट भएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाले संविधानलाई कमजोर बनाएको भन्दै कानुुनको शासनको लागि लडेको पार्टी भएकाले फैसलाप्रति असहमति भएपनि फैसलालाई एमालेले कार्यान्वयन गरेको बताउनुभयो ।