समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण : एकै परिवारका ६ जनाको शव भोलिमात्र उठाइने


काठमाडौँ – सोमबार बिहान मृत अवस्थामा फेला परेका सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली भने पुगिसकेको छ । कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुनेछ ।

सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।