बिजनेस

शेयर बजारमा उच्च अंकको गिरावट, ११ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार बजार मापक परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०८.२६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ को बिन्दुमा पुगेको छ । लामो समयपछि शेयर बजारमा आज उच्च अंकको गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेट सर्किट ब्रेकसमेत लागेको थियो । १ बजे सर्किट लागेको कारोबार दुई बजेपछि पुनः खुलेपछि सामान्य सुधार भएको थियो । तर, समग्रमा बजारमा तीन अंकको गिरावट आएको हो । आज १३ वटै उप समूहले गुमाएका छन् । सबैभन्दा धेरै बैंकिंग क्षेत्रले गुमाएको छ । आइतबार २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर खरिदविक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिन नपाइने नीति राष्ट्र बैंकले बनाएपछि शेयर बजार लगातार ओरालो लागेको छ । शेयर लगानी कर्ताहरुले राष्ट्र बैंकले सो नीति परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।