खेलकुद

नेपाली महिला राष्ट्रिय टोलीलाई दक्षिण एसियाली स्तरको खेल खेल्ने अवसर


काठमाडौँ – विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली महिला राष्ट्रिय टोलीले असोजमा दक्षिण एसियाली स्तरको प्रतियोगिता महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । टोलीले खेललाई अनुभव सगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ । हङकङ र फिलिपिन्सजस्ता बलिया प्रतिद्वन्द्वी भएपनि राम्रो नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी गरेको छ ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार घोषणा भएका २३ खेलाडीलाई समेट्दै तयारीलाई तिब्रता दिइरहेका छन् । त्यसो त टोलीमा अनुभवी खेलाडी सावित्रा भण्डारी भने हुने छैनन् । घुँडाको शल्यक्रिया गर्न कतारमा रहेकी सावित्रा भण्डारी विना टोली राम्रो नतिजाका निकाल्ने लक्ष्यका साथ मिहिनेत गरिहेको हो ।

नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । सिमित खेलाडीबाट घोषणा भएको टोलीले छनोट खेलमा राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक ग्यारी फिलिप्स आत्मविश्वासी देखिन्छन् । नयाँ र अनुभवि खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरुको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सले बताए ।

दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले छनोट खेल हङकङ र फिलिपिन्ससँग खेल्न लागेको हो । जुन नेपाली टोलीका लागि अनुभव बटुल्ने ठूलो मौकाको रुपमा हेरिएको छ । नयाँ र अनुभवि खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले बताइन ।

मुख्य प्रशिक्षक फिलिप्सले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । उमेर समूहका प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रिति राईले पहिलो पटक राष्ट्रिय टोलीमा अटाउँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् ।

छनोट प्रतियोगिता सुरुमा नेपालमा तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा सारिएको हो । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । भिडियोसहित–