खेलकुद

युभेन्टसको पहिले खेल बराबरीमा रोकियो


काठमाडौँ – इटालियन सिरी ए को नयाँ सिजनअन्तर्गत युभेन्टस पहिलो खेलमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा उपाधि दावेदार मानिएको युभेन्टस उडिनेससँग २–२ को बराबरीमा रोकिएको हो ।

उडिनेसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सुरुवाती दुई गोलको अग्रता लिए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । युभेन्टसलाई अग्रता दिलाउने क्रममा पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा र जुवान क्वाड्राडोले २३ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफ २–० ले अगाडी रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ५१ मिनेटमा पाएको पेनाल्टीलाई उडिनेसका खेलाडी रोबर्टो प्रेरेरा गोलमा परिणत गरेका थिए । उनलाई किपरले डिबक्स भित्र बल नियन्त्रण गर्नै क्रममा लडाएका थिए । त्यस्तै खेल सकिने निर्धारित समयभन्दा सात मिनेटअघि जेराड डियोलोफूले गोल गर्दै खेल बराबरी गरे ।

स्टार खेलाडी क्रिस्टिायनो रोनाल्डोले क्लब छाडेर जाने चर्चाबीच उनी मासिमिलानो एलेग्रीको शुरुवाती ११ मा अटाएका थिएनन् । तर, युभेका निर्देशक पाभेल नेडभेडले भने पाँच पटकका बालोन डि’ओर विजेतालाई शुरुवातबाट नै नखेलाउनु साझा निर्णय भएको स्पष्टिकरण दिएका थिए । ‘उनी युभेन्टसमा रहनेछन्,’ नेडभेडले भने ।

३६ वर्षीय रोनाल्डो खेलको ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । खेल २–२ को अवस्थामा रहेको बेला इन्जुरी समय उनले फेडेरियो किएसाको क्रसमा हेडमार्फत गोल पनि गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गर्दै रद्द गरेको थियो ।