राजनीति

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल गरिने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बत्तीसपुललीस्थित पार्टी प्यालेसमा बस्ने छ ।

बैठकमा हिजो प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने माओवादी केन्द्रले जनाएको छ । शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ । संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाईं, एवं मुलुकको समस्या समाधानका लागि गठबन्धनको निरन्तरता आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका थिए।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।