विदेश

हाइटीमा भूकम्प जाँदा तीन सयभन्दा बढीको मृत्यु, सुनामी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान अपील


काठमाडौँ – हाइटीमा शनिबार शक्तिशाली भूकम्प जाँदा तीन सय बढीले ज्यान गुमाएका छन् । बीबीसीले जनाए अनुसार हालसम्‍म ३०४ जनाको मृत्यु हुँदा १८ सयभन्दा बढी घाइते भएका पुष्‍टि गरिएको छ ।

स्थानीयसमयअनुसार हिजो बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित व्यापारिक भवन, चर्च तथा होटलहरू भत्किएको समाचारमा उल्‍लेख छ। हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ । भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् । प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पुर्‍याएको देखिएको छ ।

यसभन्दा पहिले पनि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।