समाचार

बैँकबाट कसरी ठगेका थिए केदारले करोडौँ पैसा ?(भिडियोसहित)

नामुद ठग केदारका के- के छन् कसुर ?


नामुद ठग केदारका के के छन् कसुर ?
काठमाडौँ – बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका केदार ढुंगानालाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ । हुँदै नभएको सम्पत्तिलाई बैँक धितो राखेर ठगी गर्ने ढुंगानालाई इन्टरपोलको सहायतामा पक्राउ गरी नेपाल ल्याइएको हो ।

हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट करोडौँ कर्जा लिई ठगी गरेर पोर्चुगल फरार भएका केदार ढुंगानालाई प्रहरीले लामो प्रयास पछि पक्राउ गर्न सफल भएको छ । इन्टरपोलको सहायतामा ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो । तीन वर्ष अघि नै विदेश फरार भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा पोर्चुगल रहेको पत्ता लागेपछि नियन्त्रणमा लिन सफल भएको हो ।

केन्द्रीय अनुसनधान व्युरोले अनुसन्धान गरिरहेको यस घटनामा पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो । उनलाई पक्राउ गर्न इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली पोर्चुगल गएको थियो ।

ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देवः विकास बैङ्क) सहित अन्य कयौँ व्यक्तिलाई ठगी गरेको उजुरी सीआईबीमा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो । सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, लगायत अहिले पनि प्रहरीको नियन्त्रणमा छन् । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्नेे बैंकका कर्मचारीसहित आठजना यस अघि नै नेपालमै पक्राउ परेका छन् ।

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा मिलेमतो गरी अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्रउा गरेर अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार ढुंगानाबारे रहस्य पत्ता लागेको थियो । गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन ।

अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा ढुंगानाको नाममा जारी भएको थियो ।
०७१ र ०७२ मा देवः विकास बैंकबाट १६ वटा कर्जा प्रवाह भएका थिए । १७ गाडी र एउटा जग्गाका आधारमा दुई करोड ७८ लाख कर्जा प्रवाह गरिएको थियो ।

कर्जा कन्टेनर व्यवसायी नारायण श्रेष्ठलाई चाहिएको थियो । व्यापार गर्न पैसा नभएको र बैंकमा ऋण लिन धितो पनि नभएपछि उनी समस्यामा थिए । साथी केदार ढुंगानाको सहयोगमा ‘कागजी गाडी’ र नक्कली ब्लुबुक बनाएर मनलाग्दी ऋणीहरूको फोटो टाँसेर नम्बरहरू राखे । बैंकमा पनि उनीहरूले सेटिङ मिलाएका थिए । गाडी र जग्गाको धितो मूल्यांकन गरी कर्जा प्रवाह भयो । सबै गाडीको ब्लुबुक बैंकमा बुझाइसकेका थिए । त्यसकारण बैंकले सोही आधारमा कर्जा प्रवाह ग¥यो । तर, कर्जा प्रवाह गर्नुअघि ती गाडी यातायात व्यवस्था कार्यालयमा रोक्का राख्नुपर्नेमा त्यो भएन ।

रोक्काका लागि यातायातमा पत्र गयो, तर रोक्का भए–नभएको यकिन गरिएन । सोही समूहले गाडी रोक्का राखेको भनेर पत्रमा छाप हानेर पठाइदिएको बैंकका कर्मचारीको भनाइ छ । बैंकका शाखा प्रबन्धक सरिन श्रेष्ठ रहेको शाखाबाट कर्जा प्रवाह भएकाले उनको मिलेमतो भएको प्रहरी बताउँछ ।

बैँकबाट निकालिएको पैसामध्ये धेरै नारायण श्रेष्ठले लिएका थिए । आफन्तलाई केही खर्च दिएर हस्ताक्षर गर्न लगाइएको उनीहरूले बताएका छन । पक्राउ परेका श्रेष्ठले पनि धेरै पैसा आफैँले लिएको स्वीकार गरेका छन । ०७२ मा भूकम्पमा आफ्ना तीन कन्टेनर पहिरोमा पुरिएपछि आर्थिक समस्यामा फसेको र कर्जा तिर्न नसकेको उनको दावी छ ।

घटनामा यातायात व्यवस्था कार्यालयका केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । उनीहरूले गाडी दर्ता नै नभई ब्लुबुकहरू दिएका थिए । त्यसरी ब्लुबुक दिने कर्मचारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पाँच जना यातायातका कर्मचारीहरूमाथि अनुसन्धान जारी रहेको सिआईबीले जनाएको छ ।