खेलकुद

युरोपका शीर्ष तीन लिग सुरु, विश्वभर पुनः छायो फुटबलको माहोल

मेस्सीविनाको लालिगा


काठमाडौँ – विश्वमा रहेका फुटबल प्रशंसकहरुको ध्यान तान्न सफल युरोपका शीर्ष लिगहरु आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने लिगमा युरोपका शीर्ष तीन लिग इङिलस प्रिमियर लिग, ला लिगा र बुन्डेस लिगका नयाँ सिजन आज राति १२ः४५ बजेपछि सुरु हुँदै छ । योसँगै फेरि पनि विश्वभर फुटबलको माहोल जम्ने भएको छ ।

फुटबलको लामो इतिहास बोकेको र सर्वाधिक लोकप्रिय इङ्ल्याण्डको इङिलस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आजबाट सुरु हुँदैछ । कोरोनाका कारण बन्द मैदानमा खेलाइएको प्रिमियर लिग १७ महिनापछि दर्शकसहित फर्कदै छ । तीन पटकको लिग विजेता आर्सनलले ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको क्लब ब्रेन्टफर्डसँग प्रतिष्पर्धा गर्दै नयाँ सिजनको उद्घाटन गर्ने छ ।

केही वर्षदेखि खराब प्रदर्शनबाट गुज्रिरहेको आर्सनल सिजनको पहिलो खेल जित्दै सुखद् सुरुवात गर्न चाहन्छ । त्यस्तै प्ले अफमा स्वान्सी सिटीलाई २–० ले हराउँदै लिगमा स्थान पक्का गरेको बे्रन्टफोर्ड पनि पहिलो खेलमा जित निकाल्दै लिगमा आफ्नो दावेदारी सावित गर्न चाहन्छ । वेस्ट लण्डनको टिम ब्रेन्टफोर्डको घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा नेपाली समय अनुसार रातको १२ः४५ मा हुनेछ । यस सिजनमा बे्रन्टफोर्डसँगै नरिच सिटी र वाटफर्ड पनि प्रिमियर लिगमा उक्लिएको छ ।

युरोपको अर्काे सफल लिग स्पेनिस ला लिगा पनि आज रातिबाट १२ः४५ बजेपछि नै सुरु हुँदै छ । भ्यालेन्सिया र गेटाफेको खेलसँगै यस लिगको नयाँ सिजन सुरुवात हुनेछ । भ्यालेन्सियाले घरेलु मैदान मेस्टल्लामा गेटाफेको स्वागत गर्दै छ । तर, यस वर्षको ला लिगामा भने केही फरक देखिने छ । १७ वर्ष देखि बार्सिलोनाको सिनियर टिममा देख्दै आईरहेका लियोनल मेस्सीलाई भने देख्न पाइने छैन । २०१८ पछि रियल मड्रीडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालियन लिग सिरी ए मा आबद्ध भएपछि नै केही खस्केको ला लिगा मेस्सीको बर्हिगमनले भने लिगाको चाम घटाउने पक्का छ ।

ला लिगा कमजोर बनिरहेको छ भन्ने उसको खराव आर्थिक अवस्थाले पनि पुष्टि गर्छ । गत सिजनमा मात्रै ला लिगाले २ अर्व भन्दाबढी आर्थिक संकट व्योहोरेको थियो । यसका बावजूद पनि ला लिगा रोमाञ्चक हुने केही पक्ष भने देखिएको छ । बार्सिलोनाका प्रमुख प्रतिष्पर्धी क्लब रियल मड्रीडले पनि आफ्ना कप्तान सर्जियो रामोस र अनुभवी डिफेन्डर राफाल भरानलाई बेचिसकेको छ । त्यस्तै प्रशिक्षक जिनेदिन जिदानले पनि क्लब छोडेसकेका छन् ।

युवा प्रतिभालाई बढी अवसर दिने लिग जर्मन बुण्डेस लिग पनि आजबाट नै सुरु हुँदै छ । बुण्डेस लिगको नयाँ सिजनको पहिलो खेलमा ९ वर्षदेखि लगातार लिग जित्दै आइरहेको क्लब बार्यन म्युन्सनले मोन्चेङ ग्लाडबेचको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार राति १२ः१५ मा मोन्चेङको घरेलु मैदान बोरोसिया पार्कमा सुरु हुने छ । फ्रान्सको लिग वान अगष्ट ७ देखि नै सुरु भइसकेको छ भने इटालीको लिग सिरी ए आगामी अगष्ट २१ देखि सुरु हुने छ ।