बिजनेस

नेप्से हालसम्मकै उच्च विन्दुमा, १७ अर्बमाथिको कारोबार

योहो संवाददाता

काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल साउन २० गते बुधबार नेप्से तीन हजार एक सय ४० दशमलब ३८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार मंगलबार नेप्से ५१ दशमलव ९७ अंकले बढको छ । साथै, आज कारोबार रकम पनि बढेको छ । आज १७ अर्ब ८४ करोड ६१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूहको घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक जीवन विकास लघुवित्त रहेका छन् । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ८९ करोडको कारोबार भएको छ ।