खेलकुद

नेपालमा तय भएको एसियन कप छनोट खेल कोरोनाका कारण उज्वेकिस्तानमा हुने


काठमाडौँ – नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिइएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको छ । यस अघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ ।