खेलकुद

पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि खेल प्रेमीमा निरासा


काठमाडौँ – सायदै, अब अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ७७ नम्बरको जर्सी देखिने छ । ७७ नम्बरको जर्सी देखियोस पनि कसरी ? त्यहि ७७ नम्बरको जर्सी लगाउने नेपाली क्रिकेटका प्रिय पुर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् । मंगलबार बिहानै पारसले अप्रत्यासित सन्यासको घोषणा गरे । जुन कसैले कल्पना समेत गरेको थिएन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी मानिएका पारस खड्काले एकाएक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यू गरेका पारसले २००८ देखि २०१९ सम्म नेपाली टिमको कप्तानी गरेका गरेका थिए ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ मा टि २० विश्वकप खेलेको थियो । सन् २०१८ मा नेपालले पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन पाँचको उपाधि जितेको थियो । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।

पारस ओडिआई र टि२० आई दुवैमा नेपालबाट शतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् । उनले ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आइमा शतक प्रहार गरेका थिए । टि २० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान हुन् । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि २० क्रिकेट खेलेका छन् । नेपाली क्रिकेट अहिले जुन अवस्थामा छ त्यो पारसकै मुख्य योगदानको कारण हो । उमेरले पारस ३४ वर्ष पुगे । वर्तमान अवस्थामा कुनैपनि खेलाडी सक्रिय रुपमा ३५–३६ वर्षको उमेरसम्म खेल्दै आएका छन् ।

त्यसपछि खेलाडीको उमेरको कारण फिटनेस र प्रदर्शनमा विस्तारै गिरावट आएको देखेका छौं । अर्को वर्ष ग्लोबल छनोटसम्म पारसको उमेर ३५ कट्नेछ । जसको कारण पनि पारसले सन्न्यास लिएका हुनसक्छ । पारसले सन्न्यास लिनुको अर्को कारण युवा खेलाडीलाई मौका दिनु हो । पारसले यो समय सन्न्यास दिँदा युवा खेलाडी २०२२ को ग्लोबल र २०२३ को एकदिवसिय विश्वकप छनोटको लागि तयार हुन्छन् । यी दुई प्रतियोगिता मुखैमा सन्न्यास लिनुभन्दा यस समयमा लिएमा युवा खेलाडीले बढी मौका पाउँछन् ।

त्यस्तै, पारस खुलेआम रुपमानै खेलाडी जीवनपछि क्यान नेतृत्वमा जाने बताउँदै आएका छन् । पारस अब खेलाडी भन्दापनि क्यान नेतृत्वको रुपमा काम गर्दै नेपाली क्रिकेट विकास गर्न चाहन्छन् । आफूहरु खेलेर मात्र क्रिकेट विकास नहुने र क्यानले पनि त्यहि अनुसार काम गर्नुपर्ने पारसले लगातार बताउँदै आएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीको रुपमा महत्व पुर्ण योगदान गरेका खड्काको आगामी दिन सफल होस । हाम्रो पनि सुभकामना ।