खेलकुद

एन्फाको विवाद गहिरिदै, अध्यक्ष शेर्पामाथि दबाब



काठमाडौँ –यतिबेला अखिल नेपाल फुटबल संघ एन्फा विवादको भुमरिमा छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट सोमबार राजिनामा दिए ।

अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गरे । अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरे । कुनै व्यक्तिबिशेषका कारण नभई फुटबलको बिकासका लागि वातावरण बनाउनका लागि राजिनामा दिएको पनि बताए ।

राईले राजीनामा दिदै गर्दा फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न जसरी आग्रह गरे, त्यो भनेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद हो । प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादपछि अहिले एन्फा अप्ठ्यारो अवस्थामा पुगेको छ ।

साउन १० गते प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले राम्रोसँग काम गर्न नदिएको अरोप लगाउँदै राजीनामा दिने घोषणा गरेका थिए । वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने प्रशिक्षकले लगाएको अरोपको खण्डन गर्दै छानविन गर्न समिति गठन गर्नुपर्ने माग गरे । उता प्रशिक्षक अलमुताइरीले पनि छानविनको माग गर्दै एन्फामा निवेदन दिए ।

यही विषयमा एन्फाले शुक्रबार बैठक बसेको थियो । तर कुनै निष्कर्ष निकाल्न सकेन । बरु वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवाद छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गर्यो । मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै निष्कर्ष निकालेको छैन । विवाद यसमा मात्रै सिमित रहेन ।

सोमबार नै अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाले सोसियल मिडियाबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले राजिनामा दिनुपर्ने माग गरे । उनले फेसबुकमा स्टेटस लेख्दै अध्यक्ष शेर्पाले एन्फा हाक्न नसकेको अरोप लगाएका छन् । प्रवक्ता राइले राजीनामा दिदै एन्फाको अर्ली चुनाव गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्नु र उपाध्यक्षले अध्यक्षको राजीनामा माग्नुलाई विवादको नयाँ श्रृखलाको रुपमा लिइएको छ ।