देश

रत्नपार्कस्थित आकाशेपुलको भित्तामा कलाकारले बनाएको चित्र मेट्नु ‘फ्रन्टलाइनर’को अपमान : प्रवक्ता शर्मा


काठमाडौँ – काठमाडौँको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि कांग्रेसले विरोध जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको साँटो मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दावी गर्नुभयो । नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पाको परिकल्पना कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्‍मानमा भित्तामा चित्र बनाएका थिए ।

तर महानगरपालिकाले नयाँ चित्र बनाउने भन्दै कलाकारले बनाएको चित्र मेटिदिएको हो । महानगरले लाखौं रुपैयाँ खर्च गरेर काठमाडौँको सम्भयता झल्कने गरी नयाँ चित्र बनाउने जनाएको छ ।