राजनीति

कार्यदलले तयार पारेको १० बुँदे सहमतिबारे छलफल गर्न नेम्वाङ र पौडेलले नेपालसँग भेट गर्दै


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले भेटवार्ता गर्ने भएका छन् । विवादमा सहमति जुटाउने प्रयासस्वरुप भेट गर्न लागेका हुन् ।

यस भेटमा नेम्वाङ र पौडेलले यसअघि गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालसँग छलफल गर्ने बुझिएको छ । नेता नेपालले कार्यदलको प्रस्ताव एमाले एकताका लागि पुर्ण नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । सोही अनुसार नेता नेपालले अध्यक्ष ओली पक्षबाट कार्यदलमा समेत रहेका नेताद्वयसँग छलफल गर्न लागेका हुन् ।

यसबीचमा ओली पक्षले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान सकिने बताएपछि नेपालले आफुलाई दोस्रो अध्यक्ष नचाहिने बरु सम्मानजनक एकताको सुनिश्चित ओलीबाट हुनुपर्ने अडान राखेका छन् । त्यसका लागि नेपालले खासगरी तीनवटा विकल्प अघि सारेको बताइएको छ । कार्यदलको प्रस्ताव सार्वजनिक भएसँगै ओली र नेपालबीच आरोप प्रत्यारोप जारी छ ।