देश

बर्तमान सरकारले किसान र मजदूरको हितमा काम गर्नुपर्छ : रामनारायण बिडारी


काठमाडौँ – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

उहाँले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो – ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करिव करिव ९० प्रतिशत जनताको हित हुन्छ । ति किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उहाँले विगतको सरकारले नेपाली नागरिकलाई रैति बनाएको पनि बताउनुभयो । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उहाँले बताउनुभयो । नागरिकलाई विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उहाँले उल्लेख गर्नुभयो ।