अर्थनीति

बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउँछौं : अर्थमन्त्री पौडेल


काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताउनु भएको छ ।


आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नु पर्ने सबै काम र सहयोग गर्ने बताउनुभयो । सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उहाँले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कार्य सम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गर्नु भएको थियो । यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्पादन सम्झौता गर्नु भएको थियो ।