बिजनेस

सार्वजनिक यातायातले पाएनन् यात्रु, रत्नपार्कको बसपार्क हटाएकोमा चालक रुष्ट


काठमाडौँ – लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । २०७८ बैशाख १६ गते देखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिना पछि आजबाट सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन् ।

बल्लतल्ल जोरविजोर प्रणाली अनुसार एक दिन विराएर सवारी साधन सञ्चालन गर्न पाएपनि काठमाण्डौ महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेका गुनासो चालकहरुले गरेका छन् । सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुराउन पनि धौंधौ भएको उनीहरुको गुनासो छ ।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइएपनि त्यस भन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिईएको छैन । माईक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गरेका छन् ।