राजनीति

अराजक बन्नु ओलीको रहर नभइ बाध्यता

अहिले मजबुत विपक्षी गठबन्धनबाट सरकारको नेतृत्व देउवाले गर्न पाए पनि फेरि प्रचण्ड, माधव र बाबुरामहरुका कारण शक्ति टकराव चुलिने निश्चित छ ।


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर देशमा अस्थिरताको खेल चलाएका छन् । जसलाई प्रचण्ड–माधवसहितको विपक्षी गठबन्धनले देश नै संकटतर्फ धकेको भन्दै प्रतिवाद गरिरहेको छ । तर अहिले जुन अवस्था निम्तीएको छ, यसको कारक प्रचण्ड–माधवलाई लिन सकिन्छ ।

झण्डै तीन वर्षअघि अर्थात् २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लागिरहेको थियो, अबको साढे दुई वर्षपछि देशको प्रधानमन्त्री बन्छु । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग आलोपालो सम्झौता गरेर पार्टी एकिकरण गरेका प्रचण्डले पार्टी र सरकारको नेतृत्व गर्न पाए, एमाले पार्टी नै कब्जाको गर्ने रणनीति बनाएका थिए । एमालेसँग एकिकरण गर्नुअघि आफ्नै पार्टीभित्रको टुटफुट र सहयोद्धाहरुको बहिर्गमनले राष्ट्रिय राजनीतिमा समेत कमजोर र ओझेलमा पर्दै गएका प्रचण्डलाई ओलीसँग ६०/४० को भागबन्डा मिलेपछि नै शक्तिमा आउने हुटहुटी बढेको थियो । तर उनको सपना त्यतिबेला चकनाचुर बन्यो, जतिबेला पाँच वर्ष नै केपी ओलीले सरकारको नेतृत्व गर्ने गरि सम्झौता गरे ।

तत्कालिन अवस्थामा ओलीको शिथिल बन्दै गएको स्वास्थ्य अवस्था र त्यसको परिणामको आश गरिरहेका प्रचण्डलाई विस्तारै ओलीको सक्रियताले प्रधानमन्त्री बन्न पाईदैन भन्ने लागेपछि पार्टीभित्र विद्रोह गर्न थाले । एमालेकै माधव पक्षलाई आफ्नो कित्तामा सामेल गराउन सफल भएका प्रचण्डको चरम सत्ता मोहकै कारण ओलीसँग टकराव चुलिएपछि पहिलो प्रतिनिधिसभा विघटन र नेकपा खोरजसम्मका दृश्यहरु देखिए । अहिले दोस्रोपटक प्रतिनिधिसभा विघटन भएर देश यो अवस्थामा आईपुगेको छ । जसले पनि देखाउँछ देशमा संकट निम्तीनुका पछाडी ओलीको भूमिका जति छ, प्रचण्ड–माधवको पनि उत्ति नै छ ।

ओली जस्तै चरम सत्ता भोकको अभिषालाले प्रचण्डलाई आकुलब्याकुल बनाउन थालेपछि उनी विद्रोहमै जानुपर्छ भन्ने पक्षमा उभिएका थिए । उनको पक्षमा सशक्त बनेर माधव नेपाल उभिएका छन् । कुनै दिन प्रचण्डबाट विषबृक्षको उपाधी पाएका माधव नेपाल अहिले विश्वास पात्र बनेका छन् । शनिबार त, ओलीसंग कुनै पनि हालतमा नमिल्ने र अझै विद्रोही भएर बस्ने घोषणा नेपालले गरेका छन् । जबकी १५ वर्ष एमालेको नेतृत्व उनैले गरेका थिए । नेपाल पार्टीको महासचिव भएर नेतृत्व गर्दा २०५२ मा शेरबहादुर देउवासँग मिलेर महाकाली नदि भारतलाई जिम्मा लगाउन भूमिका खेलेका थिए ।

२०६३ तिर गिरिजाप्रसाद कोइरालासँग मिलेर ३० लाख अंगिकृत नागरिकलाई नागरिकता दिन अहम योगदान दिएका नेपालले २०५४ मा आएर त पार्टी नै विभाजन गर्न सफल भए । बरु ओली २०७२ मा नाकाबन्दी विरुद्ध लडे भने राष्ट्रिय सहमतिका साथ चुच्चे नक्शा जारी गर्न सफल बने । नवौं महाधिवेशनमा ओलीसंग पराजित भएपछि नेता नेपाल पदविहिन बनेका छन् । ओलीको पेलनमा परेपछि विद्रोह थालेका नेपाललाई अहिले पार्टीबाट निष्काशित गरिएको छ । आफैले बनाएको पार्टीमा निष्काशित हुनु पर्दाको पीडाकै कारण विपक्षमा क्रियाशिल भएर आगो ओकलिरहेका छन् ।

आफ्नै घर भत्काएर नेता नेपाल जुन दिशामा अघि बढेका छन्, त्यहाँ पनि उनको समाप्ती देखिन थालेको छ । अहिले मजबुत विपक्षी गठबन्धनबाट सरकारको नेतृत्व देउवाले गर्न पाए पनि फेरि प्रचण्ड, माधव र बाबुरामहरुका कारण शक्ति टकराव चुलिने निश्चित छ । अहिले ओलीले एकलौटी गरेको क्रियाहरु उनीहरु झनै बाझाबाझ गरेर सतहमा ल्याउने छन् । किनकि अहिले उनीहरुबीच देखिएको मिलन पद नपाउँदासम्मका लागि मात्रै हुनेछ ।

अहिले माधव नेपाललाई प्रधानमन्त्री वा पार्टीको अध्यक्ष बन्ने भूत सवार भएको छ । विधि अनुसार अध्यक्ष बन्न अर्काे महाधिवेशन पर्खिनुपर्छ, प्रधानमन्त्री हुन सांसद जितेर आउनुपर्छ । तर नवौं महाधिवेशन पनि पराजित भएर थन्किएका उनी आफु बन्न नपाएपनि ओलीसंग सत्ता खोस्ने मानसिकतामा छन् । यसैकारण न्यूटल अवस्थामा बसेका देउवालाई प्रधानमन्त्रीको सुनिश्चिता देखाएर प्रचण्ड–माधवले नयाँ खेल शुरु गरेका हुन् । त्यसैले, छ महिनाको अवधिमा दुईपटक प्रनितिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जुन गल्ती गरेका छन्, त्यो गल्तीको भागिदार प्रचण्ड–माधवहरु पनि हुन् ।