देश

जनप्रतिनिधि नै असुरक्षित, सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर हत्या (भिडियोमा)


काठमाडौँ – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर श्रेष्ठको हत्या गरिएको छ । प्रहरी प्रशासनले घटनाको छानबिन भइरहेको बताएपनि आफन्तले भने घटना नियोजित रुपमा गराइएको आरोप लगाएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको छ । सिंचाइका लागि पानी जम्मा गर्न सो पोखरी निर्माण गरिएको हो । नगरपालिकाको बजेटमा हाल सो पोखरीको मर्मत सम्भार भइरहेको छ । यसैक्रममा शुक्रबार राति भक्तिपुरका वडाध्यक्ष सुर्य कुमार श्रेष्ठ पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर निस्किए । नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए ।

पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार दाहाल र एक्स्काभेटर चालक तामाङले सँगै खाजा समेत खाएका थिए । खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन समेत भएको अनुसन्धानमा खुल्न आएको छ । खाजा खाएर उनीहरु पोखरी हेर्न गए । जब पोखरी खनेको स्थानमा उनीहरु पुगे । तब चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले हिर्काएर लडाए । त्यसपछि वडाध्यक्षको टाउको र छातीमा क्षतविक्षत हुने गरि बकेटले हिर्काएर उनको हत्या गरेको खुलेको छ ।

यतीबेला प्रहरीले चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हत्याको कारण पोखरीको विवाद वा अन्य राजनीतिक कारण भएको नखुलेको प्रहरीले दाबी गर्दै आएको छ । यद्यपि आफन्तले भने सुनियोजित तरिकाले हत्या गराइएको आरोप लगाएका छन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । हत्या पछि चालक र ठेकेदार फरार भएका थिए । अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पु¥याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । फरार रहेका जेसिबी चालक र ठेकेदारलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । अफन्तले घटनाका दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।