कोरोना विशेष

भारतमा कोरोनाको तेस्रो लहरको त्रास : विज्ञ भन्छन्, दोस्रोभन्दा धेरै जटिल हुन्छ


काठमाडौँ – भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन् ।

त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ ।

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा सङ्क्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६।५६ प्रतिशत पुगेको छ ।

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् ।

उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुप¥यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पु¥याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।