बिजनेस

लगानी बोर्डद्वारा ९७ अर्ब बराबरको जलविद्युत परियोजना स्वीकृत



काठमाडौँ – लगानी बोर्ड नेपालले करिब रु ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्ड नेपालको आज बसेको ४७ औं बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना २८५ मेगावाट र अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना १३९ मेगावाट गरी दुईवटा जलविद्युत परियोजनाको करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ६७९ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेवीएन लिमिटेड सँग गरिने समझदारी पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । त्यसैगरी तमोर जलाशययुक्त जलविद्युत परियोजना ७५६ मेगावाटको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको लगानी बोर्डका कार्यकारी प्रमुख शुशिल भट्टले जानकारी दिनुभयो ।

साथै, बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डमा सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।