बिजनेस

साउनदेखि जेठसम्म १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजारको वैदेशिक व्यापार


काठमाडौँ – चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो देखिएको हो ।


विभागका अनुसार अहिले देशको वैदेशिक व्यापार घाटा साढे १२ खर्ब भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा २४.६१ प्रतिशतले व्यापार घाटा बढेर १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात ३७ दशमलव ७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म खाद्यान्न, फलफूल आइरन र स्टिल, मेसिनरी सामग्री, गाडी र पाट पुर्जा, औषधि, प्लास्टिक लगायतका सामग्री आयात सबैभन्दा बढी भएको छ ।


यता, निर्यातमा भने यो वर्ष तेल जन्य पदार्थ नै प्रमुख रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म भटमासको तेल, कफी चिया, कार्र्पेट, आइरन र स्टिलको निर्यात बढी रहेको भन्सार विभागले जनाएको छ ।