समाचार

फेरि थुनियो मर्स्याङ्दी नदी ,बहाव बढ्दै गएपछि चामे बजार जोखिममा


काठमाडौँ – निरन्तरको वर्षापछि चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको छ ।

पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको छ । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो । गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । फेरि नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।