देश

जुट्दै छ मेलम्चीका पीडितलाई सहयोग (भिडियोसहित)


काठमाडौँ – प्रकृतिक विपत्तीमा परेको मेलम्चीलाई विभिन्न निकायबाट सहयोगहरु जुट्न थालेको छ । काठमाडौँ महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

विपत्तीका बेला काठमाडौँ महानगरपालिकाले सो रकम सिन्धुपाल्चोक पुगेरै हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विपतको बेलामा आफुहरुले थोरै भएपनि सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । माया र आत्मियताको कुनै मुल्य नहुने भन्दै सिन्धुपाल्चोकको विपतिमा काठमाडौँ महानगरपालिकाको साथ सधै रहने भन्दै प्रमुख शाक्यले आश्वासन समेत दिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति थियो । विगतका विपतिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपतीमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए । सिन्धुपाल्चोकमा वर्षेनी ठूला—ठूला विपतमा घटनाहरु दोहोरी रहेका छन् । तर घटना घटिसकेपछि मात्रै तात्ने परिपाटी भने परिवर्तन भएको पाइदैन् ।

मेलम्ची नगरपालिकाले भने समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको दाबी गरेको छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्युनिकरणको लागि प्रयास गरिरहेको नगरपालिकाको दाबी छ ।

मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ । संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ । सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । नगरपालिकाको अपिलपछि विभिन्न ठाउँबाट राहत संकलन जुट्दो क्रममा रहेको छ ।