देश

जगदम्बा स्टील आगलागी अपडेट : दुई जना मजदुरको मृत्यु



काठमाडौँ – बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

गएराति आगलागीमा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका छन् । घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको छ । फर्निस आयल राखेको ट्याङकी पड्किएर उद्योगमा आगलागी भएको थियो ।

जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । समयमै आगो नियन्त्रणमा लिएका कारण छेउमै रहेको अर्को फर्निस आयलको ट्यांकीमा क्षति हुन नपाएको प्रहरीले जनाएको छ । उद्योगमा हिजो राति साढे सात बजेतिर आगो लागेको थियो ।