राजनीति

शीर्ष नेता नै एमाले एकताप्रति इमान्दार नरहेको आरोप, नेतृत्व हत्याउने दोस्रो तहका नेताको दाउ


काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने भन्दै ६ बुँधे प्रस्ताव सार्वजनिक गर्दा एमाले नेता कार्यकर्तामा उत्साह जागेको थियो । तर माधव नेपाल पक्षले ओलीको प्रस्ताव अस्वीकार गर्दै अदालतमा पेश भएको हस्ताक्षर फिर्ता नहुने बताएपछि त्यो उत्साह २४ घण्टा वित्न नपाउँदै निराशामा परिणत भयो । साथै पार्टी एकता पुनः धरापमा परेपछि दोस्रोे तहका नेताहरु नेतृत्व हस्तान्तरणमा जोड दिन थालेका छन् ।

नेकपा एमालेमा पछिल्लो समय जारी निषेधको राजनीतिले शीर्ष नेतामात्र होईन दोस्रो तहका नेता र कार्यकर्तासमेत आजित छन् । विवादमा रुमलिएको नेकपा सर्वोच्चको निर्णयले छिन्नभिन्न भएपछि एमालेलाई एक बनाउन शीर्ष नेताहरु लागि पर्ने आशा नेता कार्यकर्तामा थियो । तर एमाले विउतिएपछि पनि दुबै समूह एकले अर्कोलाई आरोप लगाउँदै विपक्षी दलहरुसँग नजिक हुन थालेपछि एमाले एक हुन नसक्ने अवस्थामा पुगेको छ ।

यसै शिलशिलामा गत आइतबार राति प्रधानमन्त्री केपी ओलीले एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि नेता कार्यकर्तामा पार्टी एक हुने झिनो आशा पलाएको थियो । तर ओलीको प्रस्ताव अश्वीकार गर्दै नेपाल समूहले भोलिपल्टै अर्को वक्तव्य जारी गरेपछि पार्टी एकताको झिनो आशा पनि निराशामा परिणत भएको छ । नेपाल पक्षले ओलीको प्रस्तावमा अदालतमा पेश गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरिएकोमा उनी पार्टी एकता भन्दापनि सत्ता जोगाउन केन्द्रीत रहेको आशंका व्यक्त गरेको छ । यो पक्षले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता जोगाउन सकिने दाबी गर्दै आएको छ ।

पार्टीको आन्तरिक किचलोमा पार्टी भित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरुले खेलिरहेको नेता विष्ट स्वीकार गर्छन् । बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले एमालेमा अन्तरकलह बढाइरहेको छ । यता ओली पक्ष भने नेपाल समुहले ओलीको प्रस्तावविरुद्ध पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको र त्यसले पार्टी एकताको ढोका बन्द गरेको दाबी गर्छन् । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारका साथ गरेकोे आव्हानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको अर्थ लाग्ने ओली पक्षको बुझाइ छ । आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने नेपाल समूहको खेल सफल नहुने ओली पक्ष बताउँछ ।

एमाले दोस्रो तहका नेताहरु शीर्ष नेतृत्व नै पार्टी एकताप्रति इमान्दार नभएको आरोप लगाउन थालेका छन् । साथै पार्टी एकता जोगाउन शीर्ष नेताहरु असफल भएमा दोस्रो तहका नेताहरुलाई पार्टी नेतृत्वको जिम्मेबारी दिएर भएपनि एकता जोगाउनुपर्ने उनीहरुको दाबी छ ।