राजनीति

माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा निवासको निष्कष(भिडियोसहित)

राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मकोसमझदारी बुनिएको बुझिन्छ ।


काठमाडौँ – प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि आह्वान गरिरहेका बेला माधव नेपालसहितको विपक्षी गठबन्धन सक्रिय बनेको छ । ओलीलाई तह लगाउन प्रदेशबाट सुरु गरेको गठबन्धनले केन्द्रमा समेत ओलीलाई धक्का दिँदै माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि बढ्ने रणनीति बनाएको देखिन्छ ।

पार्टी एकता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानपछि एमालेको असन्तुष्ट पक्षसहितको विपक्षी गठबन्धनले प्रदेशदेखि केन्द्र सरकारसम्म प्रधानमन्त्री ओलीलाई सफाचट गर्ने रणनीति बुनेको छ । सत्तारुढ एमाले विभाजनको अन्तिम कसरतमा रहेका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार एकताको आह्वान गर्दै २०७५ जेठ ३ अघिकै अवस्थामा पार्टीलाई क्रियाशिल बनाउने निर्णय गरे । तर यहीँ माग उठाउँदै आएको माधव नेपाल पक्षले यसलाई जालसाजीपूर्ण भन्यो र विपक्षीहरुसंगको गृहकार्यमा अघि बढ्यो । आइतबार ओलीले ६ बुँदे आह्वान जारी गरेपछि सोमबार माधवकुमार नेपालले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहालसंग लामो छलफल गरेका थिए । कांग्रेस सभापति देउवा निवासमा भएको छलफलपछि देउवा, प्रचण्ड, माधव र उपेन्द्र यादवसहितको सहमतिले प्रदेशदेखि केन्द्रसम्म ओलीलाई असफल पार्ने समझदारी निर्माण गरेको छ ।

विपक्षी गठबन्धनले सोमबार गरेको समझदारी मंगलबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पाएको विश्वासको मतले प्रमाणित गरिसकेको छ । किनकि एमाले २४ मध्ये माधव पक्षका १७ सांसदले मत दिएपछि भट्ट सुरक्षित बनेका छन् । तल्लो तहबाट कस्सिएको विपक्षीको मोर्चाले कर्णाली प्रदेशमा माओवादीकै सरकार सुरक्षीत राख्ने र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई ढालेर माओवादीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ । बाँडफाँडका हिसावले गण्डकी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने र बागमती प्रदेशमा माधव पक्षकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरी विपक्षी गठबन्धन अघि बढेको छ । दुई नम्बर प्रदेशमा उपेन्द्र यादव समुहका लालबाबु राउत नेतृत्वको साविककै सरकार कायम राख्ने र १ नम्बर प्रदेशमा ओली पक्षका शेरधन राईलाई ढालेर माधव पक्षलाई मुख्यमन्त्री बनाउने तयारी छ । जसले ओली पक्षलाई कमजोर बनाउँदै लैजाने छ ।

अदालतमा विचाराधीन संसद् विघटनविरुद्धको मुद्वामा वरिष्ठताका आधारमा इजलास गठन भएसंगै पुनःस्थापनाको सम्भावना बलियो बनेर गएको छ । यहीँ सम्भावनालाई आँकलन गरेको विपक्षी गठबन्धनले पुनःस्थापनापछि प्रधानमन्त्रीमा देउवाको दाबी हटाएर माधवकुमार नेपालको नेतृत्वमा सरकारको दावी गर्ने रणनीति बनाएको छ । यसो गर्दा एमालेका अरु सांसद आकर्षित गर्न सकिने र पार्टीभित्र पनि माधव नेपाल नै बलियो भएपछि संसदीय दलमार्फत ओलीले कारबाही पनि गर्न नसक्ने विपक्षीको हिसाबकिताव छ । त्यसबाहेक राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मकोसमझदारी बुनिएको बुझिन्छ । किनकि यसअघि उठाएका माग बमोजिम नै ओलीले एमाले एकताको लागि २०७५ जेठ ३ अघिकै अवस्थामा पार्टीलाई फर्काउन लिखित सहमति जाहेर गरिसके पनि अनेक तर्कना गरेर माधव नेपाल पक्ष पन्छिन खोजिरहेको छ । भाँजिएको मन एकता भएर पनि माझिने नदेखेको माधव पक्षले विपक्षीसंग मिलेर ओलीलाई शिथिल बनाउने निष्कर्षमा पुगेको देखिन्छ ।