राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नयाँ इजलास गठन, को को न्यायाधीश थपिए ?


काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरिएका हुन् । संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।

आफूमाथि प्रश्न उठेपनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेशनमा बसेको हुनाले उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले अघिल्लो पटक संसद विघटन भएको मुद्दामा ‘हेर्न नमिल्ने’ राय दिएर इजलासबाट आफूलाई बाहेक गरेका थिए ।
संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाइ हुनेगरी इजलास स्थगित गरिएको थियो । केसी र श्रेष्ठको सो रायपछि वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ ।