समाचार

सांसदको छोरा सवार गाडीको ठक्करबाट श्रमिकको मृत्यु, छोरा भने फरार


काठमाडौँ – नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य दुई युवती सवार प्रदेश सभासदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल हिडिरहेका यात्री मुकेश शर्मा र अर्का २४ वर्षीय रामकुमार राजवंशीलाई ठक्कर दिँदा शर्माको मृत्यु भएको हो। राजवंशी भने गम्भीर घाइते भएका छन् ।

कटहरी गाँउपालिका निवासी राजवंशी र शर्मा स्थानीय एक एभरेष्ट फर्निचर उद्योगबाट बेलुका काम सकेर घर फर्कने क्रममा गाडीले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् । प्रवक्ता राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोशी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

प्रवक्ता राईका अनुसार घटना लगत्तै कार्की फरार भएको र उनको खोजी तीव्र पारिएको छ। प्रत्यक्षदर्शीका अनुसार प्रदेशसभा सदस्य कार्कीको कार उनकै छोरा रोविनले चलाएका थिए।