विदेश

आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान भन्दै अमेरिकाले जारी गर्‍यो एडभाइजरी


काठमाडौँ – अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ । गत वर्ष ओलम्पिक खेल स्थगित भएको थियो । ओलम्पिक खेल आयोजनाको मिति पनि नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय भएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापानमात्र होइन, यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।

कोरोना महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ । जापानमाथि फेरि एकपटक ओलम्पिक खेल स्थगित गर्नुपर्ने दबाब बढ्दो छ । टोकियो स्थित झन्डै ६ हजार चिकित्सकहरुको संख्या द टोकियो मेडिकल प्राक्टिस्नर्स एशोसियसनले भर्खरै मात्र ओलम्पिक स्थगित गर्नुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको हो । यस ज्ञापनपत्रमा ३ लाख ५० हजार जनाभन्दा धेरैको हस्ताक्षर थियो ।