राजनीति

आइसोलेसन सेन्टर बनाउने फेसन नै चल्यो : ईश्वर पोखरेलदेखि व्यापारीसम्मको आइसोलेसन, प्रविधि र सुविधा छैन


काठमाडौँ – कोरोना भाइरस संक्रमणको विरामी बढेसंगै विभिन्न संघ संस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने क्रम बढ्दै गएको छ । कतिपयले आइसोलेसन सेन्टर मात्र खोलेका छन् भने कतिपयले अक्सिजनको पनि व्यवस्था गरेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रलय भने स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

अहिले अक्सिजन तथा बेड नपाएका कारण कोरोना भाइरस संक्रमितले अकालमा ज्यान गुमाइरहेका छन् । संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विभिन्न संघसंस्थाहरुले ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोलिरहेका छन् । तर, स्वास्थ्य मन्त्रलय यसरी जथाभावी आईसोलेसन सेन्टर खोल्दा स्वास्थ्यका हिसावले घातक हुनसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु स्वास्थ्यका लागि घातक हुन सक्ने भन्दै जथाभावि आइसोलेसन नखोल्न आग्रह गरे ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको बताए । अहिले अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएकोले र त्यो अभावलाई चाँडो पुरा गर्ने उनको दाबी छ ।

संक्रमितको संख्या बढेर अस्पतालले धान्नै नसक्ने अवस्थामा आएकोले सार्वसाधारणले पनि स्वास्थ्य शतर्कता अपनाएर कोरोना नियन्त्रणमा अग्रसर हुनुपर्ने विज्ञहरु बताउँछन् । घरमा उपयुक्त ठाउँ भएसम्म घरमै आईसोलेसनमा बस्नु उपयुक्त हुने उनीहरुको सुझाव छ । टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो मात्रामा खपत हुनेहुँदा अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुनसक्छ ।

त्यसैले आईसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र जटिल संक्रमितलाई तुरुन्त अस्पताल पुर्याउनसक्ने कुराको सुनिश्चित गर्नु आवश्यक छ ।