समाचार

नेपालमा पनि आँखा बिगार्ने कालो ढुसीको संक्रमण देखियो


काठमाडौँ – कोरोनाभाइरस संक्रमणको तीब्र रुपमा फैलिरहेको बेला नेपालमा पनि आँखा बिगार्ने म्यूकर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण फेला परेको छ । कोरोनाका बिरामीहरुमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले र नेपालमा पनि आँखा बिगार्ने घातक रोग म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमण फाट्टफुट्ट देखिन थालेको बताउनुभयो । मन्त्रालयकाअनुसार अहिलेसम्म तीन–चारवटा केस देखिएको छ । काठमाडौं र वीरगन्जका कोरोना संक्रमितमा कालो ढुसीको संक्रमण देखिएको छ ।

भारतले आँखा बिगार्ने कालो ढुुसीको संक्रमणलाई महामारी घोषणा गरेका बेला नेपालमा पनि यसको संक्रमण देखिन थालेको हो । कालो ढुसी म्यूकोर प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी रहेको र यसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुने चिकित्सकहरुले बताएका छन् ।

म्यूकोर्माइकोसिसले विशेषगरी मानिसको आँखा, नाक, फोक्सो र साइनसमा असर गर्ने चिकित्सकहरुको भनाइ छ । यसको संक्रमण मस्तिष्कमा पुगेका टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने गर्छ ।