देश

देशभरका विभिन्न अस्पताललाई शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौँ – कोरोनो संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई हस्तानान्तरण गरिसकेका छन् ।

काठमाडौंको वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही अस्पताल र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग हस्तान्तरण गरिएको हो । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए ।

उनीहरुले यस मानविय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तीका लागि आफूहरु सक्रिय रहेको बताए । यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शैंयाँमा ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ ।

दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाँका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाँका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।

कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ । शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटर सहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानान्तरण गर्दैछ ।

यस्तै रुपन्देहीमा अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ । सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एकसय थान सिलिण्डर हस्तानान्तरण गरिंदैछ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ । यसअघि उक्त समूहले वीर अस्पतालमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयमसेवामा खटिएका हामी नेपालका स्वयमसेवकका लागि २५० वटा पीपीइ सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ ।