कोरोना विशेष

रेम्डिसिभिर औषधि अब नेपालमै उत्पादन गरिने


काठमाडौँ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपालमै रेम्डिसिभिर उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको नेपाल औषधि उत्पादक संघले जानकारी दिएको छ ।

रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा रहेको, नेपालमा यसको परीक्षण पास भइसकेको र छिट्टै उत्पादनको काम सुरु गर्ने औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारीले बताउनुभयो ।

नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास अधिकारीको छ । यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो । वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।