कोरोना विशेष

नेपाललाई स्वस्थ्य सामग्री उपलब्ध गराउन चर्चित व्यक्तिद्वारा बेलायती विदेशमन्त्रीलाई पत्र


काठमाडौँ – नेपालमा कोरोना संक्रमणको हातबाट बाहिर जान लागेको अवस्थामा बेलायतमा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारसँग माग गरेको छ । बेलायतका विभिन्न क्षेत्रका ५० भन्दा बढी चर्चित व्यक्तिले नेपालमा अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्यसामग्री उपलब्ध गराउन आफ्नो सरकारलाई माग गरेका हुन्।

अभिनेत्री जोआना लुम्लेसहित वैज्ञानिक, प्राध्यापक, फिल्म निर्माता, पर्वतारोही, सैनिक अनि लेखकहरूले बेलायती विदेशमन्त्री डोमिनिक राबलाई खुला पत्र लेख्दै कोभिड–१९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपत्कालीन औषधि सहयोग गर्न माग गरेका छन्। उनीहरूले ‘बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक् र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुस्खमा एकसाथ हुने बेला आएको छ,’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

सर माइकल पालिन, सर क्रिस बोनिङटन, ब्रिटिस जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियु पोलार्ड, निकोलस ह्वाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्यान्डी डगलस, भीसी विजेता क्याप्टेन रामबहादुर लिम्बूलगायतले चेन्जडट ओआर्जी अनलाइन पिटिसनमार्फत नेपाललाई तत्काल सहयोग गर्न ब्रिटिस सरकारलाई अपिल गरेको कोभिड एलाइन्स फर नेपाल यूकेले जनाएको छ ।

सर क्रिस बोनिङटनले भनेका छन्, ‘म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर । मलाई आशा छ, नेपालीको दुस्खमा बेलायत सरकारले सहयोग गर्नेछ ।’

नेपालमा कोरोना संक्रमणबाट मंगलबारसम्म ५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।