कोरोना विशेष

मृत्युदर बढ्नुमा डाक्टरको दोष रहेको स्वास्थ्यमन्त्रीको आरोप, उपचारमा लापरबाही गरेको भनाई(भिडियोसहित)


काठमाडौँ – कोरोना नियन्त्रणमा मुख्य जिम्मेबार निकायमा रहेर पनि निरिह देखिदै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बारम्बार अरुमाथि दोष लगाएर पन्छिदै आएका छन् । यसैको निरन्तरता स्वरुप उनले चिकित्सकहरुकै कारण कोरोना संक्रमितको मृत्युदर बढेको विवादास्पद अभिव्यक्ति दिएका छन् ।

सिनियर चिकित्सकहरु संक्रमितको उपचारमा नखटिँदा मृत्युदर बढेको उनको भनाई छ । कोरोना भ्याक्सिन आयात हुन नसक्नुमा बिचौलियाहरुलाई दोष दिएर उम्किएका स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले मृत्युदर बढ्नुमा पनि चिकित्सकलाई दोष दिएर पन्छिन खोजेका छन् । भ्याक्सिन खरिद प्रकणमा त्रिपाठीमाथि आफ्नै हातमा डाडु पन्यू भएपनि विचौलिया सामु निरिह देखिएको र कारवाहि गर्नुको साटो भूतको संज्ञा दिएर विचौलियालाई उन्मुक्ती दिएको आक्षेप लागेको थियो ।

तिनै स्वास्थमन्त्रीले कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्नुको दोष पनि चिकित्सक माथि थोपरेपछि थप विवादमा मुछिएका छन् । संक्रमितको उपचारमा जुनियर डाक्टर मात्र खटिँदा मृत्युदर बढेको उनको भनाई छ । आकस्मिक कक्षमा भर्ना भएका संक्रिमतहरु गम्भिरताका आधारमा नभई पक्षधरताको आधारमा आईसियुमा भर्ना गर्ने गरिएको समेत उनले बताए । यस्ता स–साना कुराले मृत्युदरमा प्रभाव पारेको भन्दै उनले सिनियर डाक्टहरु कोरोनाको डरले भिजिटमै नजाने गरेको उल्लेख गरे ।

चिकित्सकहरुले भने स्वास्थ्यमन्त्रीको यो अभिव्यक्ति प्रति आपत्ती जनाएका छन । महामारीकोे यो घडीमा संक्रमणको डरत्रास र परिवार समेत नभनी सेवा खटिएका चिकित्सकहरुको मनोवल घट्ने गरी तालुकमन्त्रीले यस्तो अभिव्यक्ती दिनु दुःखको कुरा भएको नेपाल चिकित्सक संघले जनाएको छ । कोहि कसैले त्यस्तो गरेको भए मन्त्रालयले कारबाही गर्न सक्ने भएपनि विना प्रमाण फ्रन्टलाईनमा खटिएकाहरुमाथि यस्तो आक्षेप लगाउन नहुने संघको भनाई छ ।

हुन पनि अहिलेको अवस्थमा महामारी विरुद्ध डटेर कोहि लडिरहेको छ भने तिनै चिकित्सक र स्वाथ्यकर्मीहरु नै लडेका छन् । त्यसैले उनीहरुलाई सेतोवस्त्रधारी भगवानको संज्ञा समेत दिन थालेका छन् जनताले । तर सरकारले भने भोक निन्द्रा नभनी संक्रमणको जोखिम पर्वाह नगरी र पैसा भत्ता र परिवार समेत नभनी महामारी विरुद्ध लडिरहेका उनीहरुलाई प्रोत्साहन गर्नु त परको कुरा राम्रो ब्यवहार समेत गर्न सकेको छैन । त्यसमाथि पनि जिम्मेबार मन्त्रीबाटै यस्तो अभिव्यक्ति आउँदा स्वस्थ्यकर्मीको मनोबल घटेको छ । यसप्रति तुरुन्त स्वास्थ्य मन्त्रीको ध्यान जान जरुरी छ ।