कोरोना विशेष

प्रदेश दुईमा अक्सिजन अभाव हुन नदिन मन्त्री यादवको संयोजकत्वमा समिति गठन


काठमाडौँ – प्रदेश २ सरकारले कोरोना संक्रमितहरुको लागि अक्सिजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि मन्त्री यादवको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरुबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको नियमित अनुगमन गर्नेछ।

त्यसैगरि बैठकले संक्रमितहरुको उपचार गरिरहेका प्रदेशका सरकारी तथा निजी अस्पतालको अनुगमन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा विज्ञ समूह गठन समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पीसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो।