कोरोना विशेष

काठमाडौँमा कालीमाटी तरकारी बजारबाट थालियो एन्टिजेन परीक्षण


काठमाडौँ – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन परीक्षण सुरु गरिएको छ । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको सुरुआत कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो ।

परीक्षणका लागि तरकारी बजारमा खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनिएको छ । महाशाखाका ल्याबटेक्निसियन निरीक्षक भोला अधिकारीले परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने बताउनुभयो ।

उहाँकाअनुसार कसैको शरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ । भोलि वडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।