देश

बुधवार फेरि बस्ने गरि एमाले कार्यदलको बैठक सकियो


काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको गठित १० सदस्यीय पहिलो बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठक बुधबार फेरि बस्नेगरी सकिएको हो । बैठकले पार्टी एकता थप चिरा नपरोस् भन्ने हेतुले आचारसंहिता निर्माण गरेको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनबारे भने केही निर्णय नभएको माधवकुमार नेपाल पक्षबाट कार्यदलको नेतृत्व गरेका भीम रावलले जानकारी दिनुभयो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने निर्णय गरेको पनि रावलले बताउनुभयो ।

‘पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीपंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सद्‌भावका लागि आग्रह गरेको छु, रावलले भन्नभयो, ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्ने र एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधिबाट अलग रहन पार्टीपंक्तिलाई हार्दिक आह्वान गर्ने निर्णय पनि गरेको छ।’