कोरोना विशेष

विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने बाइडेनको घोषणा


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन् ।

यसअघि नै अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन् ।

‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन । अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ ।’

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन । अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो ।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोगु नमाग्ने बताए ।

कुन-कुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन । बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ । बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।

ती मुलुकहरूलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्। उनले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताएका छन् ।