मनोरञ्जन

जनताको गीत गाएर फेरि चम्कीदै प्रकाश सपूत


काठमाडौँ– गायक प्रकाश सपूत, नेपाली संगित क्षेत्रका एक चीरपरिचित नाम हो । हुन त उनी लोक संगित पृष्ठका हुन् । तर उनले यस्तो यस्तो गितहरु दर्शकमाझ ल्याए की, ती गीतहरुका कारण अहिले उनी लोक लय मन पराउने मात्रै नभई आम नेपालीको मन मुटुको कलाकार बन्न सफल भएका छन् । गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले नेपाली दर्शक माझ छुट्टै किसिमको चर्चा पाउने गरेको छ । उनको नयाँ गीत ’मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेण्डिङको शीर्ष स्थानमा पुगको छ ।

अहिले संगित पारखीमात्रै नभई संगितको चाह नहुनेहरुले समेत प्रकाशको यो गीतलाई पटक पटक सुनन थालेका छन् । गीतमा शब्द, संगीत र स्वर प्रकाश एक्लैको छ । उनले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् । राजनीतिक अस्थीरताले ल्याएको विसंगति र व्यथितीलाई गीतमा प्रतिविम्वीत गरेको कारण पनि आम नेपालीले यस गीतलाई आफ्नै गीत सम्झन सकेका हुन् ।

जताततै अनियमितता, शक्ति र भक्तिले राज गर्दै गएपछि आम नागरिक एक प्रकारले असहिय भएका छन् । यस्तो बेला जनताको बोली बोलिदिएपछि प्रकाश सपूत सबैको हाई हाई नहुने कुरै भएन । यस्तै प्रशंसाको शिखरमा पुगेका छन् प्रकाश । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । नेपाली नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ । मेरो पनि हैन र यो देश’ बोलको यो गीतले राष्ट्रिय एकताको भावना बोलेको छ । प्रकाश आफ्नो हरेक गीतमा कुनै न कुनै नौलो श्रृजना भर्ने गर्दछन् । यस गीतमा पनि मौलिकताभित्र रौनकता छरेका छन् ।

दर्शकमाझ फरक खालको छाप छाड्न सफल मानिएका सपूतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीत नसुन्ने नेपाली सायदै होलान् । मेला पाखा र महोत्सवमा मात्रै होइन, प्रकाशका यी गितहरु शहरी माहोलका आधुनिक दर्शक श्रोतामाझ पनि उत्तिकै लाकप्रिय छन् । त्यसो त प्रकाश सपूत फेरि एक पटक नेपाली मनहरुको आकाशमा चम्कीएका छन् ।