गण्डकी प्रदेश

गण्डकी प्रदेशको विशेष अधिवेशन आज

कांग्रेस दलका नेताले अविश्वासको प्रस्ताव पेश गर्दै


काठमाडौँ – मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउन गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज शुरू हुँदैछ ।
दिउँसो २ बजे शुरू हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव पेश हुने भएको छ । दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिमा जुटेको हो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि अन्य सांसदले धारणा राख्ने र मंगलबार मुख्यमन्त्रीले जवाफ दिने तय गरिएको छ । मंगलबार नै अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश गरिने छ । अविश्वासको प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ । राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर नगरे पनि मतदानमा सघाउने प्रतिवद्धता जनाएको छ । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्ने कांग्रेस, माओवादी केन्द्र र जसपाले साझा प्रतिबद्धता जनाएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् ।