कोरोना विशेष

खोप लाउनेहरुको भीडले प्रहरी हायलकायल, अस्पतालमै तोडफोडको स्थिति

अस्पतालहरु भीड व्यवस्थापनमा चुक्दा आजभोली कोरोना बढ्दै गएको छ ।


काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएपछि नागरिकहरुमा आत्मबल बढ्दै गएको छ ।भारत र चीनले सहयोग गरेका खोपहरु लगाउन पुगेकाहरुले सामान्य सर्तकता अपनाउन नसक्दा र अस्पतालहरु पनि व्यवस्थापनमा चुक्दा यहीँ भीडबाट संक्रमण फैलिरहेको छ ।

एकातिर कोरोना भाइरसको संक्रमणले सास फेर्नै मुस्किल परेपछि अक्सिजनको साहरामा बाँचिरहेका व्यक्ति छट्पटाई रहेका छन् ।अर्काेतिर त्यहीँ रोगबाट बच्ने लोभले ठेलमठेल गर्दै कोरोनाविरुद्वको भ्याक्सिन लगाउनेको जमात पनि ठूलै छ ।

न सामाजिक दुरी कायम, न त कुनै सर्तकता । एकमाथि अर्काे खाँदिएर सर्वसाधारणको हुलहुज्जत कायमै छ ।
नेपाल मेडिकल कलेज जोरपाटीमा मानिसको भीड देख्दा लाग्छ कोरोनाको संक्रमणबाट बच्न अब कसैलाई छुट छैन । किनकि न यहाँ कोरोना संक्रमितका लागि उपयुक्त व्यवस्थापन गरिएको छ । न कोरोनाविरुद्धको खोप लगाउनेहरुको उचित प्रबन्ध नै ।जसकाकारण सर्वसाधारणले चरम असन्तुष्टि ओकलिरहेका छन् ।

कोरोनाको खोप लगाउन पाउने भएपछि विहान १० बजेदेखि नेपालमेडिकल कलेज जोरपाटीमा सर्वसाधारणको लर्काे लागेको थियो । अस्पतालले वितरण गरेको कुपन हातमा लिएर लाईनमा बसेका उनीहरु खोप लगाएर घर फर्किने मनसायमा थिए । अस्पतालको व्यवस्थापनले उनीहरुलाई दिनभरी लाइनमा त लगायो, तर बेलुका भने खोप लगाउन सकिदैन भनिदियो ।
अस्पतालले आफुसंग एक सय डोज खोप भएको तर सर्वसाधारणको संख्या एक हजार बढी भएकाले बेलुका पाँच बजेसम्म खोप लगाउन आनाकानी गरिरहेको थियो । तर दिनभरी लाइन बसेका सर्वसाधारणअस्पतालले धोका दिएको भन्दै हुलदंगामा उत्रिन थालिसकेका थिए ।सर्वसाधारणमा देखिएकोचरम आक्रोशले दुर्घटना निम्तिने खतरा बढेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरह्यो ।

चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारले देशभरका विभिन्न अस्पतालमा लगाउने व्यवस्था गरेको छ । तर अस्पतालहरु भीड व्यवस्थापनमा चुक्दा आजभोली कोरोना बढ्दै गएको छ । जसले दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण यीनै अस्पतालहरुबाट जोडतोडले फैलिरहेको छ ।