कोरोना विशेष

कोरोनाग्रस्त भारतलाई विश्वभरबाट साथ, बेलायतले पठायो पहिलो चरणको सहयोग,अन्य देशबाट पनि सहयोग आउनने क्रम जारी


काठमाडौँ – कोरोनाको दोस्रो लहरले हालयकायल बनिरहेको भारतलाई विभिन्न देशहरुले सहयोग गरिरहेका छन् । संक्रमण दर र मृत्यु दर दुबैमा दैनिक रेकर्ड कायम भैरहेको भारतमा बढ्दो अक्सिजन अभावका बीच विभिन्न देशहरुले खोपको कच्चा पदार्थ, आवश्यक औषधी र अक्सिजन लगायतका सामग्री सहयोग गर्ने भएका हुन ।

भारतमा यतिवेला कोरोना भाइरसको संक्रमण भयावह बनेको छ । अस्पतालहरुका बेड भरिँदा मानिसहरु उपचारको अभावमा ज्यान गुमाउन बाध्य बनिरहेका छन् । अर्कातर्फ संक्रमितले अत्यावश्यक अक्सिजन नपाउँदा अवस्था थप दर्दनाक बनिरहेको छ । विश्वकै ठुलो जनसंख्या भएको देशहरुमध्येको एक भारतमा कोरोना विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेको छ । आफ्नै देशमा खोप उत्पादन गर्न सफल भएपनि भारत कोरोना नियन्त्रणमा भने सफ हुन सकेको छैन । यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले त्यहाँ सङ्क्रमण तीब्र गतिमा फैलिरहेको छ । त्यस्तै हालसालै ठूल्ठूला राजनीतिक ¥याली एवं धार्मिक भेलाले संक्रमणको फैलावटमा सघाउ पुगेको थियो । यस्तो अवस्थामा भारतालाई यतिवेला विश्वका विभिन्न देशहरुले महामारी विरुद्ध लड्ने सहयोग गरेका छन् ।

यसैबीच बेलायतले गरेको सहयोग प्याकेज पहिलोपटक मंगलबार नयाँदिल्ली आइपुगेको छ । भेन्टिलेटर र अक्सिजन उपकरणलगायतको बेलायती सहयोग मंगलबार दिउँसो भारत आइपुगेको हो । अन्य सहयोगका सामग्री पनि यसै साता भारत आइपुग्ने बताइएको छ । बेलायतले भारतलाई हावाबाट अक्सिजन तान्न सक्ने अक्सिजन कन्सन्ट्रेटर उपकरण ४९५ तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर सहयोग गरेको हो । त्यसैगरी, अमेरिकालगायत अन्य देशहरुले सहयोग गरेका आपत्कालीन सामग्रीहरू पनि भारत आउने क्रममा रहेका जनाइएको छ । अमेरिकाले कच्चा पदार्थमा लगाएको निर्यात प्रतिबन्धसमेत हटाइसकेको छ । भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । त्यस्तै भारतका लागि अमेरिकाले भेन्टिलेटर, पीपीई तथा परीक्षण किटहरू पठाइसकेको जनाइएको छ ।

यता फ्रान्सले पनि भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ । भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् । भरतमा दोस्रो लहरको कोरोनाका कारण अस्पताल भरिएका छन् । भारतका अस्पतालमा अक्सिजनको कमि भएपछि पाकिस्तानका ट्विटर प्रयोगकर्ताले ट्विटरमा #IndianLivesMatter #IndiaNeedsOxygen ट्रेण्ड चलाएका छन् । त्यसैगरी चीनले पनि भारतलाई ८ सय अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ । थप १० हजार केही दिनमै पठाउने बताइएको छ । यता यूएईले पनि भारतमा उच्च क्षमताको क्रायोजेनिक अक्सिजन ट्यांकर पठाएको छ भने साउदी अरबले पनि भारतमा अक्सिजन ट्यांकरका साथै ८० मेट्रिक टन अक्सिजन पठाउने तयारी गरेको छ । त्यस्तै सिंगापुरले पनि विभिन्न सामग्री तथा उपकरणहरू पठाइसकोे छ । अस्ट्रेलियाका तर्फबाट पनि सहयोगको आश्वासन दिइएको छ भने विभिन्न संघ संस्थाहरुले पनि सहयोगको लागि हात अगाडी बढाएका छन ।