राजनीति

ओली सरकारको आयु लगभग ६ महिना तन्कीदै, कोरोना र जसपा ओली सरकारका लागि बरदान बन्दै (भिडियोसहित)


काठमाडौँ – विपक्षी दलहरु नयाँ सत्ता समीकरणमा ठोस सहमति गर्न नसक्दा ओली सरकारको आयु लम्विने भएको छ । साथै कोरोनाको दोस्रो लहरले पनि नेपाल आक्रान्त बन्न थालेपछि तत्काल सरकार परिवर्तनको एजेण्डा ओझेलमा पर्ने संकत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्प खोज्न विपक्षी दलहरु लामो समयदेखि तयारी गरिरहेको भएपनि तत्काल त्यो तयारीले मूर्तरुप नपाउने भएको छ । ओली सरकारको विकल्प खोज्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्णय लिएपनि संसद्मा निर्णायक शक्ति मानिएको जसपाले ठोस निर्णय लिन नसक्दा ओली सरकारको आयु लम्विने भएको छ । यसैकारण न त नेपाली कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नै सक्यो न त माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिन नै सक्यो । माओवादी केन्द्रले त स्थायी कमिटी बैठकबाटै जसपाले निर्णय नदिएसम्म ओलीलाई दिएको फिर्ता लिन नहुने निर्णय नै गर्यो ।

यता नेपाली कांग्रेसले पनि जसपालाई नै कारण देखाएर नयाँ सरकार गठनको वातावरण बनि नसकेको भन्दै आफ्नो ध्यान महाधिवेशनको तयारीमा केन्द्रीत गरेको छ । नेकपा एमालेकै माधव नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्तावमा सघाउने बचन दिएकोले कांग्रेस सभापति शेरबहादुर देउवा जसपाले निर्णय लिना साथ ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारीमा छन् । यता नेकपा एमाले पनि सरकारविरुछ गठबन्धन नबनोस् भनेर जसपालाई फकाउने प्रयास जारी राखेको छ । मन्त्रिपरिषद् वैठकले जसपाका १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएर जसपाको मन जित्ने प्रयासमा ओली एक कदम अगाडि बढिसकेका छन् ।

त्यसो त एमालेले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जसपाकै समर्थनमा विश्वासको मत लिन सक्ने र बहुमत जुटाउन सक्ने दाबी गर्दै आएको छ ।

तर एमालेभित्रै नेपाल समूहले प्रधानमन्त्रीको विकल्प चाहेकोले जसपालाई साथ लिएपनि विश्वासको मत पाउने सम्भावना देखिदैन । तर पनि पछिल्लो समय कोरोनाको दोस्रो लहरले नेपालमा निषेधाज्ञा लागु भएकोले तत्काल ओली सरकारविरुद्ध विपक्षी दलहरु आक्रमक भएर लाग्ने सम्भावना छैन । कालान्तरका ओली सरकारले नै नयाँ आर्थिक वर्षको बजेट ल्याउने र कम्तीमा दशैसम्म सत्ता लम्ब्याउने सम्भावना बढेको छ ।