राजनीति

बागमती प्रदेशमा थपिएका नवनियुक्त मन्त्रीले शपथ लिएसँगै सम्हाले कार्यभार


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पौडेलले नेकपा एमाले का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीले आजै साँझ प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।